बसको ठक्करबाट २ जनाको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

काठमाडौँ । दाङ देउखुरीको राजपुरमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

पीडित परिवारलाई राहत र दोषीलाई कारबाहीको माग गर्दै स्थानीयले लमही राजमार्ग अवरुद्ध पारेको दाङका डिएसपी जनक मल्लले जानकारी दिए।

हातमा लाठी बोकेका स्थानीयले सडकमा टायर बाल्दै प्रदर्शन गरिरहेका छन् । स्थानीयको अवरोधका कारण सवारी साधन चल्न सकेका छैनन् ।

राजमार्ग खुलाउने प्रयासमा उल्लेख्य संख्यामा प्रहरी परिचालन गरिएको छ । स्थानीयले प्रहरीको तैनाथी बढाइएको विषयमा पनि विरोध गरेका छन् ।

राजपुर गाउँपालिका – ५ जंग्रहवा र नौसहरा बीचमा रहेको कोरियाखोला पुल नजिक शनिबार राति पौने ८ बजे रा १ ख २३६० नम्बरको बसले रा ७ प २०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट मोटरसाइकलमा सवार राजपुर गाउँपालिका– ५ का २४ वर्षीय प्रमोद यादवको घटनास्थलमै मृत्यु भएको थियो भने  मोटरसाइकलको पछाडि सवार २३ वर्षीय प्रदीप यादवको उपचारका लागि कोहलपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।