ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान आजदेखि सुरु

काठमाडौं - ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान आज (शुक्रबार)देखि सुरु हुँदैछ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदायका मानिस दिनमा निराहार बस्छन ।

रोजा बस्न मुसलमान समुदायले उर्दू क्यालेण्डरअनुसार शुक्रबार बिहान ४ बजेर १० मिनेटदेखि बेलुका ६ बजेर २० मिनेटसम्म बजेसम्म निराहार (रोजा) बस्नुपर्छ । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिक पनि परिवर्तन भइरहन्छ ।

रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्वत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमान समुदायको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ ।