सुक्खायामकाे जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ,कसरी हुने सुरक्षित ?

 
  
काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा भएको छैन । त्यसैले अबको दुई महिना आगलागी, डढेलो, चट्याङ र हावाहुरीको उच्च जोखिम छ । 

पछिल्लो हप्ता देशभर वर्षा भएकाले आगलागीको क्रम केही रोकिएको छ । अब वर्षा रोकिनेबित्तिकै आगलागी बढ्ने यस क्षेत्रका विज्ञहरूले बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो समयमा सबैभन्दा बढी आगलागी र डढेलोले क्षति पुर्‍याउने भएकाले विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिइएको छ । 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल पछिल्लो एक दशकको तथ्याङ्क हेर्ने हो भने आगलागीको दर बढ्दै गएको र त्यसले पुर्‍याउने क्षतिसमेत बढिरहेको बताउछन् । ‘अझ पछिल्लो पाँच वर्षको तुलना गर्दा आगलागीको ग्राफ गुणाङ्कले बढेको छ’, पोखरेलले भने, ‘यो बेला विशेष सावधानी अपनाउनुपर्छ, स्थानीय तहलगायत सरोकारवाला निकायले त्यसको न्यूनीकरणका लागि पूर्वतयारी तथा आगलागी भइहालेको खण्डमा नियन्त्रणका लागि आवश्यक तयारी गर्ने बेला हो ।’

प्राधिकरणका अनुसार बुधवारमात्रै १८ विपद्जन्य घटना भएका थिए । त्यसमध्ये १६ घटना आगलागी, हावाहुरी चट्याङ र डढेलोका छन् । गएको वैशाखदेखि चार हजार ४८ वटा विपद्जन्य घटना भएकामध्ये सबैभन्दा बढी दुई हजार छ सय १३ घटना आगालागीका छन् । यी घटनामा परेर एक सय दुई जनाको ज्यान गएको छ भने तीन सय ५२ जना घाइते भएको तथ्याङ्क प्राधिकरणसँग छ ।

आगलागीबाट मानवीय क्षतिका साथै भौतिक क्षति पनि ठूलोमात्रामा हुने गरेको छ । ती घटनामा दुई अर्ब ३० करोड रुपैयाँ बढीको क्षति भएको छ । तीन हजारभन्दा बढी परिवार प्रभावित भएका छन् । यस्तै हुरीबतासका एक सय घटना हुँदा १० जनाको ज्यान गएको छ भने डढेलोका एक सय ३४ घटनामा एक जनाले ज्यान गुमाएका छन् । चट्याङका दुई सय ३६ घटनामा ८० जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका आगलागीविज्ञ सुन्दर शर्माले यी तथ्याङ्कले पनि आगलागीको दर अत्यधिक रहेको र बढी भौतिक क्षति आगलागीका कारण हुने गरेको बताए । ‘सबै विपद्जन्य घटनालाई विश्लेषण गर्दा त्यसको ९० प्रतिशत भौतिक क्षति आगलागीका कारण भएको छ । अहिलेसम्म नेपालमा आगलागी नियन्त्रणमा खटिने अग्रफोर्स भनेको नेपालका सुरक्षाकर्मी हो’, उनले भने । शर्माले सुरक्षाकर्मीबाहेकका तालिमप्राप्त दस्ता नेपालमा नभएको उल्लेख गरे ।

पछिल्लो समय सरकारले स्वयंसेवक ब्युरोको अवधारणा ल्याएपछि त्यही आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्वयंसेवी तयार पार्न लागेको प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले बताए । 

उनका अनुसार अहिले स्वयंसेवीलाई तालिम दिने काम भइरहेको छ । मकवानपुरमा तालिम चलिरहेको छ । नमुनाका रूपमा विपद्का समयमा स्वयंसेवा गर्न इच्छुक व्यक्तिका लागि अनलाइनबाटै फारम भर्ने व्यवस्था गरिएको छ । पहिलो चरणमा रेडक्रसमा आबद्ध एक लाख जनालाई स्वयंसेवामा जोड्दै तालिम सुरु गरिएको प्राधिकरणले जनाएको छ । पालिकाको मातहतमा रहने गरी ती स्वयंसेवीलाई विपद्का बेला परिचालन गर्न सकिने छ ।