सुन तस्करी प्रकरण : अनुसन्धानमा कमजोरी देखिएपछि गृहले गर्यो अर्को समिति गठन

काठमाडौँ । सुन तस्करीको अनुसन्धानमा कमजोरी देखिएपछि गृह मन्त्रालयले अर्को छानबिन समिति बनाएको छ । 

६० किलो सुन तस्करी र भेपमार्फत भएको सुन तस्करीको अनुसन्धानमा जाँचबुझ आयोगले दिएको प्रतिवेदन अध्ययनपछि गृह मन्त्रालयले छुट्टै छानबिन समिति बनाएको हो ।

सुन तस्करी प्रकरणको अनुसन्धानमा लापारबाही गरेको प्रतिवेदन आयोगले दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख एआईजी किरण बज्राचार्य र दुई डीएसपीलाई समेत त्यहाबाट हटाइएको छ । 

 उनीहरूमाथि थप कारबाही गर्न मन्त्रालयले कानुन महाशाखाका सहसचिव भरतमणि रिजालको नेतृत्वमा तीन सदस्यीय समिति बनाइएको छ ।

आयोगले सिफारिस गरेकै प्रतिवेदनलाई थप ‘भेरिफाई’ गर्न समिति बनाइएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

समितिमा प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकाल र गृह मन्त्रालयलकै अर्का उपसचिव रामबहादुर शाही सदस्य छन् । 

चैत १ गते आयोगका अध्यक्ष डिल्लीराज आचार्यले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई छानबिन प्रतिवेदन बुझाएका थिए ।