सीआईबीका ४ इन्स्पेक्टरको सरुवा, प्रहरी प्रधान कार्यालय पुगे रञ्जित लामा 

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत ४ जना इन्स्पेक्टरलाई हटाइएको छ ।

सीआईबीमा कार्यरत रञ्जित लामालाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ । इन्स्पेक्टर वकिल सिंहलाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर–१ नक्साल, कृष्ण श्रेष्ठलाई पहरा गण र सुरेश खत्रीलाई प्रहरी हेडक्वार्टरमा सरुवा गरिएको छ ।

चैत २ बाट सीआईबीको प्रमुखमा एआईजी श्यामलाल ज्ञवाली गएका छन् । यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका इन्स्पेक्टर राजु अधिकारीलाई सीआईबीमा लगिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर गजेन्द्र रावलको पनि सीआईबीमा काज सरुवा गरिएको छ । उनी अपराध अनुसन्धान र ‘टेक्निकल एनालाइसिस’मा अब्बल मानिन्छन् ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले विभागीय कारबाही गर्न सिफारिस गरेपछि मन्त्रिपरिषद्ले एआईजी किरण बज्राचार्यलाई सरुवा गरेको थियो ।

६० किलो र भेपमार्फत गरिएको सुन तस्करीको अनुसन्धानमा एआईजी बज्राचार्य नेतृत्वको टिमले त्रुटिपूर्ण अनुसन्धान गरेको आयोगको ठहर छ ।