हात्तीको आक्रमणबाट मकवानपुरमा एक सातामै दुई जनाको मृत्यु

काठमाण्डौँ - जंगली हात्तीको आक्रमणबाट मकवानपुरमा एक साता नबित्दै दुई जनाको ज्यान गएको छ ।

पर्सा वन्यजन्तु आरक्षबाट आएको हात्तीको आक्रमणमा परी बकैया गाउँपालिका-५ पावसमा ५० वर्षीय सन्तलाल माझीको बिहीबार राति मृत्यु भएको हो । साँझ गोठमा गएको वेला हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका माझीलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त हात्तीको आक्रमणबाट बुधबार हेटौंडा उपमहानगरपालिका-१८ हर्नामाडी मानेडाँडाका ३० वर्षीय देव वाईबा घाइते भएका छन्। दुवै खुट्टा  ढाँडमा भित्रि चोट लागेको उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। 

गत सोमबार सोही हात्तीकै आक्रमणबाट सोमबार मनहरी गाउँपालिका ४ मा ६४ वर्षीया राधा अधिकारीको मृत्यु भएको थियो। 

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको जंगली हात्ती मनहरी, हेटौंडा हुँदै अहिले बकैया ७ को कत्लेखोलामापुगेको स्थानीयले जानकारी दिएका छन्। निकुञ्जले हात्ती नियन्त्रणमा लिन सकेको छैन।