आज प्रचण्ड र ओलीबीच निर्णायक वार्ता हुँदै

 काठमाडौं - प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एवं नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार निर्णायक बार्ता हुदै छ ।

राष्ट्रपति निर्वाचनमा उम्मेदवार टुंगो लगाउन तथा सहमति नजुटिरहेको बेला प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच निर्णय वार्ता हुन लागेको हो । राष्ट्रपति निर्वाचनलाई लिएर प्रमुख दलका शीर्ष नेताहरू बहुपक्षीय छलफल गरिरहेको भए पनि कुनै सहमति जुट्न सकिरहेको छैन ।

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँगको बिहीबार छलफलपश्चात् प्रधानमन्त्री प्रचण्डले शुक्रबार एमाले अध्यक्ष ओलीसँग निर्णाय वार्ता गर्ने बताए । ‘छलफल चलिरहेको छ, शुक्रबार एमाले अध्यक्षसँग कुरा हुन्छ’ प्रधानमन्त्री प्रचण्डले भने ।

राष्ट्रपतिकै विषयमा उनले बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेतासँग छलफल गरेका थिए । उनले बुधबारको छलफलमा राष्ट्रपतिमा कांग्रेसलाई सघाउने आश्वासन दिएका छन् । साथै बिहीबार जसपासँगको छलफलमा उनले उपराष्ट्रपति जसपालाई दिने विषयमा आफू सकारात्मक भएको बताए ।

बिहीबार साँझ सिंहदरबारमा गत आमनिर्वाचन ताकाको चुनाबी गठबन्धन ब्युँताउने विषयमा छलफल गर्न एकीकृत समाजवादी, माओवादी केन्द्र र जसपाबीच छलफल भएको थियो । तर, बैठक बिना निष्कर्ष टुंगिएको छ । उक्त बैठक शुक्रबार पनि बस्ने बताइएको छ ।