राजनीतिक दलले बाटो देखाउन नसके दलहरू सकिने दिन आउँछ : उपाध्यक्ष सापकोटा  

काठमाडौँ । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले नेपाल अहिले भूराजनीतिको जटिल अवस्थामा रहेको बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाललाई नेपालीहरूले नै रक्षा गर्नुपर्ने बताए। नेपालीहरूलाई राजनीतिक दलहरूले बाटो देखाउनुपर्ने उनको भनाइ छ।

उपाध्यक्ष सापकोटाले राजनीतिक दलहरूले बाटो देखाउन नसके दलहरू सकिने दिन आउने बताए। उनले नेपाली जनतालाई ठिक ढंगले बाटो देखाउने हो भने धर्तीको कुनै तागतले नेपालीलाई हानी पुयाउन नसक्ने बताए।

उनले भने, ‘नेपाल वास्तवमा अहिले जियोपोलिटिक्स सिच्वेसनका कारणले गम्भीर र जटिल पेचिलो अवस्थामा गएको छ। यो नेपाल नेपालीहरूको हो। नेपाललाई रक्षा नेपालीहरूले गर्दछन्। त्यसमा बाटो देखाउने काम राजनीतिक पार्टीहरूको हो। राजनीतिक पार्टीले इतिहासको यो आवाजलाई बुझ्न सकेनन् भने उनीहरू पनि पछि पर्दछन्। मान्छेहरू भन्छन् नि, यो संधै स्वतन्त्र भइरहेको छ। एकदिन त्यस्तो बिन्दु आउन सक्छ। जुन दिन सदाका लागि हामी सिद्धिने दिन आउँछ। तर नेपाली जनतालाई ठिक ढंगले गाइड गर्ने हो भने धर्तीको कुनै तागतले हामीलाई सिध्याउन सक्दैनन्। आवश्यकता हामी जनतामा भर पर्नुपर्छ।’

उपाध्यक्ष सापकोटाले राजनीतिमा अस्वस्थ प्रतिष्पर्धा र प्रियतावाद बढिरहेको बताए। उनले कतिपय प्रियतावादीहरूलाई राजनीति चटकबाजी लागिरहेको पनि बताए।