कामपाले सुरु गर्‍यो कम्पोष्ट मल बनाउन, बञ्चरेडाँडामा पनि उत्पादनको तयारी

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले टेकुस्थित ट्रान्सफरस्टेसनमा आजदेखि कम्पोष्ट मल बनाउने काम सुरु गरेको छ । परीक्षणका रूपमा टेकुबाट सुरु गरिएको मल उत्पादन गर्ने प्रक्रिया उपत्यकाको अन्य स्थान र आगामी एक महिनाभित्र अन्तिम फोहर विसर्जन स्थान बञ्चरेडाँडामा पनि उक्त प्रक्रिया सुरु गर्ने तयारी रहेको कामपा वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए ।

आज टेकुमा १२ टन कुहिने फोहरबाट मल बनाउने काम सुरु गरिएको हो । कम्पोष्ट मल बन्नका लागि एक महिनादेखि बढीमा तीन महिनासम्म समय लाग्ने श्रेष्ठको भनाइ छ । यसअघि कामपाले काठमाडौँ उपत्यकामा उत्पादन हुने कुहिने फोहरलाई यहीँ नै व्यवस्थापन गर्ने र त्यसबाट मल उद्योग सञ्चालन गर्ने भन्दै स्थान खोजेको थियो । एकै स्थानमा पर्याप्त जमिन उपलब्ध गर्न नसकेपछि कामपाले थोरै ठाउँमा पनि मल बनाउनका लागि प्रक्रिया सुरु गरेको जनाएको छ ।

श्रेष्ठले भने, “सबै फोहर एकै स्थानमा जम्मा गर्ने र कामपाको केन्द्रिय कार्यलयले मात्रै यसको व्यवस्थापन गर्छु भन्दा त्यो सफल नहुन सक्छ, सबै वडाले आफ्नो वडामा उत्पादन भएको फोहरको जिम्मा लिएर कम्पोष्ट मल बनाउन थाल्नुपर्छ । यसका लागि आवश्यक सहयोग गर्न विभाग तयार छ । ”

उनका अनुसार कामपाले उपत्यकाको अन्तिम फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा पनि कम्पोष्ट मल बनाउनका लागि तयारी गरिरहेको छ ।

काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर स्रोतमा नै वर्गीकरण गरेर लैजानुपर्नेछ । त्यसका लागि कामपाले फोहर वर्गीकरणको प्रक्रियालाई कडाइका साथ कार्यान्वयन गर्नेछ । आगामी एक महिनाभित्र बञ्चरेडाँडामा पनि फोहरबाट मल बनाउने कामको थालनी हुने भनाइ कामपाको छ । यो सँगै कामपाका ३२ वटै वडा र नागरिकलाई पनि मल उत्पादन गर्नका लागि प्रोत्साहन गर्ने कामपाको तयारी रहेको छ । त्यसका लागि मल उत्पादन गर्ने भाँडो सहुलियत दरमा कामपाले नागरिकलाई वितरण गरिरहेको छ ।