लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन धादिङमा सुरु 

काठमाडौं - राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं केन्द्रीय महाधिवेशन धादिङ सदरमुकाम धादिङबेसीमा सुरु भएको छ । महाधिवेशनको शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले उद्घाटन गरेका छन् ।

महाधिवेशन शुभारम्भ गर्दै मुख्यमन्त्री जमरकट्टेलले मुलुकको विकासमा संगीतको योगदान अतुलनीय रहेको बताए । त्यसका लागि एकजुट भएर अघि बढ्न समेत उनले  आग्रह गरे । आफू पनि लोक तथा दोहोरीगीतको श्रोता रहेको भन्दै उनले सांस्कृतिक पक्षको सम्वद्र्धनका लागि लोकसंगीतको भूमिका महत्वपूर्ण रहेको बताए । महाधिवेशन उद्घाटनअघि बृहत र्‍याली निकालिएको थियो ।