आजबाट शहीद सप्ताह शुरु, विभिन्न कार्यक्रम गरि मनाइँदै 

काठमाडौं । आजबाट शहीद सप्ताह शुरु भएको छ । शहीदहरुको सम्झनामा आजदेखि माघ १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिन्छ ।प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने गरिन्छ ।

शहीद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीलाई प्राण दण्ड दिइएको स्थान काठमाडौँको टेकुमा उनको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरेर उनको स्मरण गरिँदैछ ।

वि.सं.१९९७ माघ १० गते शास्त्रीलाई टेकुमा मृत्युदण्ड दिइएको थियो ।  उक्त स्थानलाई विसं २०३५ मा तत्कालीन काठमाडौँ नगर पञ्चायतले शिलालेख राखी संरक्षण शुरु गरेकामा अब उनको पूर्णकदको शालिक स्थापना गरेको छ ।

विसं १९५० मा बनारसमा जन्मिएका शास्त्रीलाई निरङ्कुशताविरुद्ध विभिन्न गतिविधि सञ्चालन गरेको अभियोगमा विसं १९९७ माघ १० गते टेकुस्थित खरीको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो ।

प्रजातान्त्रिक आन्दोलनका क्रममा इन्द्रचोकमा राजनीतिक कार्यक्रम गरी जनतालाई प्रजातन्त्रका पक्षमा एकताबद्ध गराएको आरोप लगाई कारागार सजाय दिइरहेकै बेला उनलाई मृत्युदण्ड दिइएको थियो । निरङ्कुश राणा शासनविरुद्ध देशविदेशमा समेत सङ्गठन गर्ने कार्यमा उनले सक्रिय भूमिका निर्वाह गरेका थिए ।