गाँजाको प्रयोगलाई युक्रेनले दियो मान्यता, औषधि तथा अन्य प्रयोगबारे छुट्टै निति निर्माण हुने 

काठमाण्डौँ - गाँजाको प्रयोगलाई लिएर युक्रेनी संसदमा चलेको लामो बहसले निकास पाएको छ । युक्रेनको संसदले गाँजाको प्रयोगसम्बन्धी नयाँ कानून पारित गरेसँगै कानुनी मान्यता पाएको हो ।

युक्रेनको संसदले पोस्ट–ट्रमाटिक स्ट्रेस डिसअर्डर र युद्धका कारण हुने पीडादायी रोगहरूको उपचार गर्न गाँजाको प्रयोगसम्बन्धी नयाँ कानून पारित गरेको हो । युक्रेनी संसदमा पनि यो कानुन पारित गर्न मतदान नै भएको थियो । २४८ सदस्यले पक्षमा मतदान गर्दा १६ सदस्यले विपक्षमा मतदान गरेका थिए भने । ३३ जना सांसद उपस्थित भएनन् । ४० जना सदस्यले मतदान गर्न नै पाएनन ।

संसदका सभामुख रुस्लान स्टेफानचुकले गाँजाको औषधि प्रयोग गर्ने अवस्था र विधिको सूची स्वास्थ्य मन्त्रालयले निर्धारण गर्ने बताए । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युद्ध–सम्बन्धित अवस्थाहरूको उपचारको रूपमा मेडिकल मारिजुआना गाँजाको पहुँचको लागि जुन २०२३ मा संसदलाई सम्बोधन गर्दा औषधिलाई कानुनी मान्यता दिन आग्रह गरेका थिए ।

उनले ‘भांगमा आधारित औषधिहरूलाई उचित वैज्ञानिक अनुसन्धान र नियन्त्रित युक्रेनी उत्पादनलाई आवश्यक पर्ने सबैका लागि वैधानिक बनाउन आवश्यक छ ।’ भनेका थिए । युक्रेन अहिले रुससँगको युद्धमा रहेको छ । २१ महिनादेखि चलिरहेको युद्धका कारण त्यहाँको हरेक कुरा अस्तव्यस्त भएको र गाँजाको बैधानिकताले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।