काठमाडौँ - एभोकाडो एउटा पोषिलो फल हो जुन स्वास्थ्यका लागि लाभदायक मानिन्छ । यो फलमा विभिन्न २० थरिका भिटामिन तथा खनिज पाइन्छ । जसले विभिन्न प्रकारका स्वास्थ्य समस्या समाधान गर्न सहयोग पुर्याँउछ ।
एभोकाडो मोटोपन, मधुमेह, मुटुको रोग कम गर्नको लागि सहयोगी मानिन्छ । तैपनि, सबैलाई यो फलको स्वाद मन नपर्न सक्छ । मन नपरे पनि स्वास्थ्यप्रति सजग रहनेहरूले भने एभोकाडो खान रुचाउँछन् ।
एभोकाडोमा अत्याधिक मात्रामा पोटासियम पाइन्छ, जुन अरु फलफूल वा खानेकुरामा पाइँदैन । यसले उच्च रक्तचापलाई घटाउनुका साथै हृदयघात र मृगौलासम्बन्धी रोगबाट बचाउन सहयोग पुर्याउँछ ।
त्यस्तै एभोकाडोमा पर्याप्त मात्रामा फाइबर हुन्छ । यसले वजन घटाउन र रगतमा हुने चिनीको मात्रा सन्तुलनमा राख्न मद्दत गर्छ । मधुमेहका बिरामीलाई पनि एभोकाडो फाइदाजनक हुन्छ । यसको फलबाहेक पात पनि मधुमेह कम गर्न लाभदायक हुन्छ ।
एभोकाडोको पातले रगतमा चिनीको मात्रा कम गर्न सहयोग पुर्याउँछ । साथै फाइवरयुक्त एभोकाडोले कब्जियत हुन दिँदैन र पाचनप्रणालीलाई समेत स्वस्थ बनाउँछ । यसमा हुने एन्टी अक्सिडेन्टले आँखाको दृष्टि सुधार्न मद्दत गर्छ ।
एभोकाडो खानुका फाइदा
– मधुमेहबाट बचाउँछ
– आँखालाई स्वस्थ राख्छ
– रोग प्रतिरक्षात्मक क्षमता बढाउँछ
– मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ
– वजन घटाउन सहयोग गर्छ
– उच्च रक्तचापलाई घटाउँछ
– हृदयघात र मृगौलासम्बन्धि रोगबाट बचाउन सहयोग पुर्याउँछ
– पाचनप्रणालीलाई स्वस्थ राख्छ