बालबालिकामा लागूऔषधको लत बढ्दै

काठमाण्डौँ - दैनिक रुपमा बालबालिकामा लागूऔषधको लत बढ्न थालेको देखिएको छ । ज्योतिर्मय सामाजिक अभियान इलामले आयोजना गरेको लागूपदार्थ रोकथाम तथा नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीले कम्तिमा १२ वर्षकै उमेरदेखि चुरोट, खैनी र गाँजाको लत बसेको पाइएको बताएका छन् ।  

कार्यक्रममा शिक्षक तथा सामाजिक अभियनता गणेश खतिवडाले अहिले पनि हरेक विद्यालयका बालबालिका लागूऔषधको लतबाट टाढा नरहेको बताए । ‘सदरमुकामभित्र रहेका विद्यालयका ८० प्रतिशत बालबालिका विद्यालय पोशाकमै रहेर पनि चुरोट पिउनबाट टाढा छैनन् । कम्तिमा १२ वर्ष देखिका बच्चाले चुरोट पिएको देखिन्छ’ खतिवडाले भने  ‘लागूऔषधबाट जोगाउन बालबालिकाबाट जोगाउन सुरु गर्नुपर्छ ।’ 

प्राध्यापक तीर्थ निरौलाले सदरमुकामका धेरै क्षेत्रमा रातको समयका लागूऔषध प्रयोगकर्ताको चलखेल हुनेगरेको बताए । ‘जुनसुकै स्थान लागूपदार्थबाट आक्रान्त छ, अभिभावक पनि आजित छन्, नियन्त्रण आवश्यक छ । अब विद्यालयबाटै प्रवेश गरेर नियन्त्रण सम्भव हुनसक्छ ।’ 

इलामका डिएसपी प्रकाश जबेगूले आर्थिक वर्ष २०८०–८१ मा लागूऔषध मुद्दामा नौं जनालाई पक्राउ गरिएको बताए । चालू आर्थिक वर्षको हालसम्म जिल्ला प्रहरीमा ६ वटा मुद्दामा नौं जनालाई पक्राउ गरिएको बताए ।  

ज्योतिर्मय सामाजिक अभियानका सल्लाहकार धर्म गौतमले कार्यपत्र प्रस्तुत गर्दै २०६७ मा गरिएको एक सर्वेक्षणका अनुसार नेपालमा एक लाख ३० हजार ४२४ जना लागूऔषध प्रयोगकर्ता रहेको बताए । गौतमका अनुसार २०६९ मा गरिएको अर्को सर्वेक्षणमा ९१ हजार ५३४ जना लागूऔषध प्रयोगकर्ता थिए । 

वार्षिक वृद्धिदर पाँच दशमलव शुन्य छ प्रतिशत रहेको गौतमले जानकारी दिए । प्रदेशगत अध्ययनमा कोशी प्रदेशमा २७ हजार ६०५, मधेश प्रदेशमा १५ हजार ८३४, बागमतीमा ४६ हजार ४८०, गण्डकीमा आठ हजार ९५६, लुम्बिनीमा २५ हजार ९३०, कर्णालीमा एक हजार ८११, सुदुरपश्चिममा तीन हजार ८०८ जना लागूऔषध प्रयोगकर्ता रहेको गौतमले जानकारी दिए ।