आज काठमाडौंमा दुर्गा प्रसाईं र एमालेको प्रदर्शन, कस्तो छ सुरक्षा ब्यबस्था ? 

 काठमाडौँ - नेकपा एमाले र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बुधबार काठमाडौंको छुट्टाछुट्टै ठाउँमा प्रदर्शन गर्ने भएका छन् ।

७ मंसिरमा दुवै पक्षले माइतीघरमा प्रदर्शन गर्ने तयारी गरेपछि सम्भावित झडपको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शनीमार्गदेखि नयाँबानेश्वरसम्म निषेधाज्ञा जारी गरेको छ । 

प्रशासनले झडपको सम्भावनालाई मध्यनजर गर्दै शान्ति सुव्यवस्था कायम गर्न भन्दै दुवै पक्षलाई फरक-फरक ठाउँमा प्रदर्शनका लागि सीमा तोकिदिएको छ । प्रशासनले चोकचोकमा सुरक्षा व्यवस्था कडाइ गरेको छ ।  सुरक्षाकर्मीले सीमा नाकाबाट भित्रने सवारीसाधनमा एक सातादेखि चेकजाँचमा कडाइ गर्दै आइरहेको छ । 

जिल्ला प्रशासनले प्रदर्शनका लागि ठाउँ तोकिदिएपछि एमालेका तर्फबाट तीनकुनेमा हुने प्रदर्शनमा एमालेका नेता महेश बस्नेतले नेतृत्व गर्ने तयारी छ । प्रदर्शनमा ५० हजार मानिस सहभागी गराउने एमालेको भ्रातृसंगठन युवा संघले दाबी गरे पनि विभिन्न संगठनका संगठित भएका २५ हजार कार्यकर्ता उतार्ने तयारी गरिएको छ ।

त्यस्तै, जिल्ला प्रशासनले दुर्गा प्रसाईंको नेतृत्वमा हुन लागेको प्रदर्शनलाई काठमाडौंको बल्खुमा शान्तिपूर्ण प्रदर्शन गर्न दिने निर्णय गरेको छ । प्रसाईंको प्रदर्शनमा विभिन्न जिल्लाबाट भेला भएर आउनेको संख्या करिब २० हजारको हाराहारीमा हुने अनुमान गरिएको छ । नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले प्रदर्शन आयोजना गरेको छ ।