दुर्गा प्रसाईं समर्थकको प्रदर्शन : बल्खुमा तोडफोड र ढुंगामुढा

काठमाडौँ - मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंको बल्खुमा आयोजना गर्न लागेको कार्यक्रममा सहभागीहरुले तोडफोड गरेका छन् । बल्खु चोकमा प्रसाईंका समर्थकहरूले पार्किङ गरेर राखिएको मोटरसाइकलहरू लडाई दिएका छन् । एमाले समर्थकहरुले प्रदर्शन बिथोल्न खोजेको भन्दै प्रसाईंका समर्थकहरूले त्यसो नगर्न चेतावनी दिएका छन् ।

दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाऊ अभियान’ को र्‍यालीमा गणतन्त्र र संघीयताविरोधी चर्का नारा लागेको छ । बिहीवार बल्खुमा हुने सभाअघि निस्किएका र्‍यालीमा गणतन्त्र र व्यवस्थाविरोधी नारा लागेको हो ।

र्‍यालीमा सहभागीले ‘गणतन्त्र खारेज गर, नारायणहिटी खाली गर’ जस्ता लारा लगाएका छन् । उनीहरूले हिन्दू राष्ट्र कायम गर भन्नेजस्ता नारा पनि लगाएका छन् । काठमाडौंका विभिन्न स्थानबाट शुरू भएको र्‍याली बल्खु पुगेर सभामा परिणत हुनेछ ।