'प्रधानमन्त्रीको चीन भ्रमणमा पोखरा विमानस्थलबारे उच्चस्तरीय छलफल हुन्छ' : पर्यटमन्त्री किराती

कास्की - संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित गर्नेबारेमा मित्रराष्ट्र चीनसँग उच्चस्तरीय छलफल हुने बताएका छन् ।

पोखरामा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आजदेखि सुरु भएको चीन भ्रमणका क्रममा चिनियाँ पक्षसँग पोखरा विमानस्थलमा चीनका विभिन्न सहरबाट नियमित उडान गर्ने विषयमा छलफल हुने बताए ।

मन्त्री किरातीले चीन र भूटानबाट पोखरा विमानस्थलमा भएको चार्टर उडानले व्यावसायिक सञ्चालनको सन्देश विश्वभर गएको बताउँदै पोखरामा नियमित उडान गर्न भारतसँग पनि छलफल भइरहेको जानकारी दिए । ‘पोखरामा दुई वटा चार्टर विमान उडाएका छौँ, यसबाट पोखरा विमानस्थलमा व्यावसायिक उडान सञ्चालनको सन्देश गएको छ’, उनले भने, ‘प्रधानमन्त्रीको चीन भ्रमणमा यसका बारेमा गम्भीरतापूर्वक छलफल हुन्छ । चीनका विभिन्न सहरबाट काठमाडौँ आउने जहाजलाई पोखरा डाइभर्ट गर्ने विषयमा छलफल भइरहेको छ ।’

मन्त्री किरातीले पोखरा र भैरहवा विमानस्थललाई सार्वजनिक निजी साझेदारीमा सञ्चालन गर्ने योजना रहेको जानकारी दिए । उनले आफ्नो सात महिनाको कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएको उल्लेख गरे । वायुसेवा निगमका क्षेत्रमा जहाज खरिद गर्ने, पशुपतिमा निःशुल्क शवदाहको व्यवस्था र नागरिक उड्डयनका क्षेत्रमा नेपालको आकासलाई कालोसूचीबाट हटाउने अन्तिम कोशिस लगायतका मध्यमस्तरको परिणाम दिने काम भएको मन्त्री किरातीले बताए ।