‘परदेशी–२’ को टिम मोफसल दौडमा, हिरोमा रुचाइएलान् प्रकाश सपूत ?

गण्डकी - अहिलेका उम्दा गायक प्रकाश सपूत फिल्म ‘परदेशी २’ बाट नायकका रुपमा उदाउँदै छन् । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा उनी फुरुङ्ग छन । गायन करिअरको शिखरमा रहेकै बेला सपूतको ‘हिरो’ बन्ने सपना पनि पूरा हुँदैछ ।
गायकका रुपमा उनी जति सफल छन् अभिनयमा पनि उसरी नै आफूलाई उतार्न सक्लान् त ? यो प्रश्नको जवाफ थाहा पाउन आउँदो २६ गतेसम्म कुर्नुपछ । वडा दसैँको छेकोमा फिल्म ‘परदेशी २’ प्रदर्शनमा आउँदैछ ।

सपूतकै भनाइमा अभिनेताका रुपमा यो उनको परीक्षा हो । ‘ब्राण्ड ब्यानर र सफल फिल्मको सिक्वेल भएकाले पनि मुख्य पात्रका रुपमा मप्रति दर्शकको चासो र अपेक्षा रहनु स्वभाविक हो’, सपूतले भने, ‘यसलाई मैले धेरै गम्भीर रुपमा लिएको छैन, बरु पहिलोपटक फिल्ममा अभिनय गर्दैछु, हिरो बन्दैछु भन्ने कुराले दङ्ग र उत्साहित छु ।’