कार्यकर्तालाई मुकुल ढकालले भने, ‘रवि सहकारी ठग हो, समातेर प्रहरीलाई बुझाइदिनुस्’  

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तत्कालीन महामन्त्री डा.मुकुल ढकालले कुनै व्यक्तिविशेषको ‘ठगी’ जोगाउन पार्टी प्रयोग हुन नहुनेमा जोड दिएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले ‘सहकारी ठग’लाई समातेर प्रहरीमा बुझाउन रास्वपा कार्यकर्तालाई आग्रह गरेका हुन् ।

विधिको शासन स्थापनाका निम्ति आफूहरूले पार्टी बनाएको उनले उल्लेख गरेका छन् । उनले रास्वपा कार्यकर्ताको ऊर्जा सहकारी ठगको बचाउका निम्ति खर्च हुनु दुर्भाग्यपूर्ण भएको बताएका छन् 

उनको फेसबुक पोस्ट रास्वपा सभापति रवि लामिछानेलक्षित हो । उनले लामिछानेको नाम भने उल्लेख गरेका छैनन् ।

उनले फेसबुकमा लेखेका छन् ।

प्रिय रास्वपा मित्रहरु !

“हामीले बनाएको पार्टी भ्रष्ट, ठग , दलाल र अपराधीको संरक्षणको लागि होइन; बल्की तिनीहरुको अन्त्य गर्दै विधिको शासन स्थापनाको लागि हो । तपाईंहरुको उर्जा एउटा सहकारी ठगको बचाउको लागि खर्च हुनु दुर्भाग्यपूर्ण हो । हाम्रो पार्टी कार्यालयमा लुकेर तपाईंहरुलाई ढाल बनाएर बसेको सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाईदिनुस् ताकी कानुनभन्दा माथी कोही हुनुहुन्न भनेर हामीले देखाउन खोजेको बाटो थप चौडा बन्न सकोस् । विधिको शासन स्थापना गर्ने बेला हो । ठग जो सुकै होस्, हाम्रै पार्टीको किन नहोस्, जेलमा कोच्ने बेला हो । कुनै व्यक्ति विशेषको ठगी जोगाउनका लागी पार्टी प्रयोग हुनुहुँदैन, गर्नुहुँदैन ।”