प्रधानमन्त्री प्रचण्डको दिल्ली भ्रमणपछि विकास साझेदारीले थप गति लिएको छ : भारत

काठमाडौँ - नेपालका लागि भारतीय राजदूतावासले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्लो भारत भ्रमणमा भएका सम्झौता अघि बढेको बताएका छन् । आज भारतीय दूतावासले भ्रमणको सम्झौताअनुसार अघि बढेका आयोजनाहरुको सूची सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री प्रचण्ड चीनको औपचारिक भ्रमणमा रहेकै बेला भारतले नेपालसँग भएका सम्झौता सार्वजनिक गरिएको हो । प्रधानमन्त्री प्रचण्ड अहिले चीन भ्रमणमा रहेका छन् । दूतावासले कुर्था–बिजरपुरा रेलमार्ग सञ्चालनमा आएको जनाएको छ । जसले नेपाल–भारतका जनताबीचको सम्पर्कलाई सुदृढ बनाएको जनाएको छ । यस्तै, नेपालको विकासका लागि नेपाल–भारत विकास सहकार्य, भारतीय अनुदानमा निर्मित सामुदायिक विकास परियोजनाको उद्घाटन समेत भएको समेत दूतावासले जानकारी दिएको छ ।

यस्तै संखुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण पब्लिक क्याम्पसका लागि निर्मित क्याम्पस भवन निर्माण सम्पन्न, सुदूरपश्चिम प्रदेशमा तीन वटा परियोजना निर्माण अघि बढेको समेत भारतीय दूतावासले जनाएको छ । जसमा टिकापुर बहुमुखी क्याम्पस, पशुपति शिक्षा मन्दिर र सिद्धनाथ माध्यमिक विद्यालयको निर्माण अघि बढेको जानएको छ ।