मुग्लिनमा गुडिरहेको बसमाथि खस्यो ढुंगा, अनियन्त्रित भएर पल्टिँदा ११ जना घाइते

काठमाडौँ । चितवनको मुग्लिन नारायणगढ सडकखण्डको सत्रकिलोमा पहाडबाट खसेको ढुङ्गा गुडिरहेको बसमा लाग्दा ११ जना यात्रु घाइते भएका छन् ।

रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग२ख ४७ नम्बरको बसमा भरतपुर महानगरपालिका वडा नंं २९ सत्रकिलो ढुङ्गा लागेको थियो ।

ढुङ्गा लागेपछि बस चालक आत्तिएर चलाउदा बस पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । बस पल्टिएपछि ११ जना यात्रु  घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते यात्रुको भरतपुरमा उपचार भइराखेको छ । दुर्घटना दिउँसो १ः५० बजे भएको प्रहरीले जानकारी दिएको छ । तीन दिन यता हरेक दिन ढुङ्गा लागेर सवारी साधानमा क्षति भएको छ भने यात्रुहरु घाइते भएका छन् । निजी सवारी साधन कार, बुधबार माइक्रो बस र शुक्रबार यात्रु बसमा ढुङ्गा लागेको छ ।