प्रतिनिधिसभाको बैठक आज बस्दै, त्यसअघि सर्वदलीय बैठक बस्ने 

काठमाडौँ - प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । साउन १० गते देखि सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन अवरुद्ध गर्दै आएको छ । दलहरूबीच सहमति नजुटे पनि सचिवालयले भने हरेक दिन पुरानै कार्यसूची निकालेर बैठक बोलाउँदै आएको छ । 

सरकार सीआईबीले छानबिन गरिरहेको भन्दै राज्यको संयन्त्रमा विश्वास गर्नुपर्ने तथा उच्चस्तरी छानबिन समिति गठन गर्न नसक्ने अडानमा छ। तर, एमाले भने समिति नबनेसम्म सदन चलाउन नदिने भन्दै बैठक अवरुद्ध गर्दै आएको छ । साउन १० गतेपछि बोलाइएको संसद् बैठक कहिले कार्यसूचीमा प्रवेश नगरी त कहिले सूचना टाँसेर स्थगन भएको छ । 

एमालेको बटमलाइन उच्चस्तरीय छानबिन समिति बन्नु पर्नेछ । यो बीचमा सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग पटक–पटक छलफल गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि मंगलबारका लागि तय गरिएको दलहरूको निर्णायक बैठक स्थगित भएको थियो ।