'बजेटभित्रै नीति तथा कार्यक्रम गाभिनुपर्छ' : स्वर्णिम वाग्ले

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद डा स्वर्णिम वाग्लेले सरकारको बजेटमा नै नीति तथा कार्यक्रमलाई गाभ्न सुझाव दिएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा वाग्लेले नीति तथा कार्यक्रममा रहेको विषयवस्तु बजेटमा समेत समावेश हुने भएकाले नीति तथा कार्यक्रमलाई गाभ्न सुझाव दिएका हुन् ।

बजेटमा छुट्टाइएका रकमहरू नीति तथा कार्यक्रमको कुनै दफामा टेकेर आएको छ भनेर पुष्टि भयो भने मात्रै उत्तरदायित्व हुने नभए कालो अक्षरको थुप्रो मात्रै हुने उनले बताए ।

नीति, नियत र क्षमताका आधारमा यथार्थपरक, विश्वसनीय र आशा जगाउने खालको बजेट ल्याउन उनले सरकारलाई सुझाव दिनुभयो । वाग्लेले दोहनकारी राज्य नीति, विकृत निर्माण व्यवसायी र राजनीतिको खराब गठजोड तोड्नका लागि सृजनशील भएर अगाडि जानुपर्ने धारणा व्यक्त गरे ।