को बन्ला नेपाल प्रहरीको भाबी आईजीपी?

काठमाडौं - नेपाल प्रहरीमा ३० औं आईजीपीको दाबी गर्ने पाँच जना एआईजीहरु पछिल्लो कार्यक्षमतामा सबै अब्बल देखिएका छन्। खास ठूलो विवादमा नआएका र पाँचै जना आफ्नो कार्य क्षेत्रमा अब्बल नै रहेका छन्।

विगतमा जस्तो गम्भीर विवादमा नपरेका डिआईजीहरू एआईजी सिफारिस मात्रै भएनन् उनीहरुले बुधबार एआईजीको दज्र्यानी चिन्ह समेत लगाए। दज्र्यानीचिन्ह लगाएपछि वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेर आफूहरु सबै आइजीपी हुन सक्षम रहेको बताएका थिए।

प्रहरीमा ३० वर्षे सेवावधिको प्रावधान हेरफेर नहुने करिब निश्चित जस्तै भएको अवस्थामा ११ चैतबाट उनीहरु मध्ये एक जनाले प्रहरी संगठनको कमान्ड सम्हाल्नेछन्।

पहिलो नम्बरमा बढुवा भएकाले कुँवर आईजीपीका बलिया दाबेदार मानिन्छन्। यसअघि डिआईजी बढुवामा १३ नम्बरबाट १ नम्बरमा फड्को मार्नुले उनलाई सहज भएको छ।