नेपाल सरकारद्धारा रुसको राजधानी मस्कोमा भएको अक्रमणको निन्दा

काठमाडौँ । नेपाल सरकारले रुसको राजधानी मस्कोमा  भएको साङ्गीतिक कार्यक्रममा आतङ्कवादी हमलाको निन्दा गरेको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले घटनाप्रति खेद व्यक्त गर्दै रुसका जनता र सरकारका साथै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

‘नेपाल सरकार आफ्नो सैद्धान्तिक अडानअनुसार सबै प्रकारका आतङ्कवादको निन्दा र भत्र्सना गर्दछ, आतङ्कवाद जहाँ र जहिलेसुकै भए पनि त्यसलाई दृढतापूर्वक तथा दृढताका साथ सामना गर्नुपर्ने धारणा राख्छ’ विज्ञप्तीमा भनिएको छ ।

मस्कोमा आतङ्कवादी हमलामा घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उक्त जघन्य कार्यमा संलग्न दोषीलाई चाँडोभन्दा चाँडो कानुनी कठघरामा ल्याउनुपर्ने नेपाल सरकारले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

सो हमलामा अहिलेसम्म ६० जनाको मृत्यु भएको र सयभन्दा बढी घाइते भएको रुसी समाचार संस्थाहरुले जनाएका छन् ।