भक्तपुरमा बर्डफ्लू, १० हजार कुखुरा नष्ट

काठमाण्डौँ - भक्तपुरका तीन वटा कुखुरा फार्ममा बर्डफ्लू भेटिएको छ । चाँगुनारायण नगरपालिका–८ सुडालको रातोपाटीस्थित कुखुरा फार्ममा बर्डफ्लू भेटिएको हो। बर्डफ्लू भेटिएपछि कुखुरा, चल्ला, अन्डा र दाना तथा अन्य पदार्थ नष्ट गरिएका छन् ।

रातोपाटीस्थत तीन फार्ममा पालिएका कुखुरामा बर्डफ्लू देखिएको पशु सेवा विभागले जनाएको छ । विभागका अनुसार, रातोपाटीमा सञ्चालनमा रहेका चाँगुनारायण पोल्ट्री एन्ड ह्याचरी उद्योग प्रालि, अर्जुन गिरी पोल्ट्री फार्म र आदित्य पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो ।

फार्ममा पालिएका कुखुरा धमाधम मर्न थालेपछि गरिएको परीक्षणमा तीन वटै फार्मका कुखुरामा बर्डफ्लू भेखिएको पशु विभागका चिकित्सक डा। श्रीजा वाग्लेले बताए । कुखुरामा बर्डफ्लू भेटिएपछि बुधबार पशु चिकित्सक वाग्ले, पशु सेवा विभागका प्राविधिक आत्माराम शर्मा, चाँगुनारायण–८ का वडाध्यक्ष जनक खत्री, चाँगुनारायण नगरपालिका पशुपन्छी सेवा विकास शाखाका कर्मचारी र प्रहरीको टोली खटिएर फार्मका कुखुरा नष्ट गरेको छ।

तीन वटै फार्ममा रहेका १० हजार ४८० वटा कुखुरा, एक हजार ५० कुखुराका चल्ला, चार हजार ५२३ वटा अन्डा र एक हजार ४७५ केजी दाना नष्ट गरिएको विभागले जनाएको छ ।