राष्ट्रपतिको निर्वाचनबारे माओवादीमा अन्योल : उम्मेदवारी नदिने, समर्थनको टुंगो छैन

काठमाडौं - राष्ट्रपतिको उम्मेदवार सर्वसम्मत बनाउने निर्णय गरेको सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा अन्यौलग्रस्त देखिएको छ।

राष्ट्रपतिमा राष्ट्रिय सहमतिको अडान लिँदै आएको माओवादीले हालसम्म उम्मेदवार र समर्थनको कुनै टुंगो लगाएको छैन। यद्यपि बुधबार राति विकसित घटनाक्रमले पुरानै पाँच दलीय गठबन्धन ब्युँताउने प्रयास भइरहेको छ।

सोमबार बसेको पदाधिकारी बैठकले राष्ट्रपतिको निर्वाचनबारे निर्णय गर्ने सम्पूर्ण अधिकार प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। मनोनयन गर्ने समय आउन तीन दिन बाँकी रहँदा माओवादीले हालसम्म राष्ट्रपतिको निर्वाचनको विषयमा ठोस निर्णय गर्न सकेको छैन।

निर्वाचन आयोगले फागुन २५ गते तोकेको राष्ट्रपतिको निर्वाचनका लागि आउँदो १३ गते उम्मेदवारले मनोनयन दर्ता गर्ने दिन तय गरेको छ। पछिल्लो विकसित राजनीतिक घटनाक्रम अनुसार राष्ट्रपतिको निर्वाचनले नेपालको राजनीतिमा नयाँ आयामका संकेत देखिएको छ।

सत्ता साझेदार प्रमुख घटक नेकपा(एमाले)ले राष्ट्रपतिमा उम्मेदवार आफ्नै पूर्वसहकर्मी एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई अगाडि सार्ने तयारी गरेको छ।

तर, सत्ता साझेदार दलभित्रै सहमति जुट्न नसक्दा गठबन्धनको भविष्यसमेत अन्योलपूर्ण रहेको बताइन्छ। एमाले र माओवादीका राष्ट्रपतिको निर्वाचनमा आआफ्नै दाउ रहेको छ। माओवादीले कुनै हालतमा एमालेको उम्मेदवार राष्ट्रपतिमा समर्थन नगर्ने पूर्ववत अडानमा कायमै रहेको छ।

तथापि एमालेले राष्ट्रपतिमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई अगाडि सारे माओवादीले बाध्यताबश् समर्थन गर्ने एमालेको आँकलन छ।