बाल क्लबको सक्रियताले कुशेमा घट्दै बालविवाह

सुर्खेत - जाजरकाेट कुशे गाउँपालिकामा बालविवाह रोक्नका लागि यहाँका बाल क्लवहरुको सक्रियता भारी मात्रामा बढेको छ।  पालिका भित्रका सबै वडाहरुमा रहेको बाल क्लबको सक्रियतामा सबै खालका बालविवाह रोकिने क्रम बढेको छ। विद्यालय वा अन्य ठाउँमा समेत बालविवाह रोक्नका लागि आफूहरु सक्रिया रहेको जुरेली सामुदायिक बाल क्लबकी अध्यक्ष प्रतिमा रोकायले जानकारी दिइन्।

बालविवाह रोक्दा आफूलाई धेरै ठाउँबाट दबाब समेत आएको उनको भनाइ छ। बालविवाह रोक्नका लागि काम गर्दा आफूलगायत आफ्ना घरमा रहेका आमा, बाबासँग समेत बिहे गरेर भागेकाहरुले बोलचाल बन्द नै गरेको प्रगतिशील बाल क्लव कुशे ४ का अध्यक्ष रविन्द्र आचार्यले बताए।

बालविवाह रोक्नका लागि कुशे गाउँपालिकामा वडा बालअधिकार समिति, नागरिक समाज सञ्जाल , स्थानीय बालअधिकार समिति र बालमैत्री स्थानीय शासन वडा समितिसमेत सक्रिय रहँदै आएको  प्रहरीले बताएको छ। प्रहरीले गरेको प्रहरी साझेदारी कार्यक्रममा समेत बाल क्लवको सक्रिय सहभागीता रहँदै आएको छ।

कुशेमा ५२ वटा बालक्लब, ९ वटा बाल अधिकार समिति, १ वटा नागरिक समाज सञ्जाल बालविवाह रोक्ने काममा सक्रिय रहेको पहाडी क्षेत्र विकास अभियान बालसंरक्षण, बालअधिकार शासन परियोजना संयोजक जीतेन्द्रबहादुर बुढाले बताए।

एक वर्षभित्र कुशेमा बाल क्लको सक्रियातका बिभिन्न निकायको सहयोगमा कुशे १ नम्वर ५ वटा बालविवाह रोकिएका छन्। त्यस्तै वडा नम्बर २ मा ३ वटा, वडा ३ मा १ वटा , वडा नम्बर ४ मा २ वटा , वडा नम्बर ५ मा १ वटा बालविवाह रोकिएको बुढाले बताए । त्यस्तै वडा नम्बर ६ मा १ , वडा नम्बर ७ मा ३ वटा , वडा नम्बर ८ मा ५ र वडा नम्वर ९ मा १० वटा बालविवाह रोकिएको उनले बताए।