एमालेले माग्यो मन्त्री ज्वाला, बस्नेत र किरातीको राजीनामा, प्रधानमन्त्रीले जवाफ नदिए संसद अवरोधको चेतावनी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले टेरामक्स भ्रष्टाचार मुद्दामा बयान दिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, रामग्राम प्राइभेट कम्पनीलाई दिने पर्यटनमन्त्री सुदन किँराती र बालकुमारी घटनामा मुछिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई तुरुन्त पदमुक्त गर्न माग राखेको छ ।

शुक्रबार जारी प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सचिव योगेश भट्टराईले यसबारे जवाफ नदिएमा आज पनि बैठक अवरोध गर्ने चेतावनी दिएका छन् ।

एमालेले हिजो बिहीबारको बैठकमा पनि सोही माग राखेको थियो । आजको बैठकमा सोही माग राख्दै प्रधानमन्त्रीले जवाफ नदिए आजको बैठक पनि चल्न नदिने चेतावनी एमालेले दिएको हो ।

बिहीबारको बैठकमा बोल्दै एमालेका तर्फबाट सांसद रघुजी पन्तले यी तीन मन्त्रीलाई तुरुन्त पदमुक्त गराएर सुशासन कायम गर्न माग गरेका थिए ।