विजेता क्रिकेट खेलाडीलाई प्रतिव्यक्ति दुई लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आइसिसी विश्वकप लिग–का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गरेका हुन् ।

खेलाडीहरूलाई बधाइ दिँदै प्रधानमन्त्रीले भने, “सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईहरूलाई बधाइ छ । तपाईहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ। चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ । यो देशकै गौरव हो ।”

प्रधानमन्त्री प्रचण्डले क्रिकेट खेलाडीका कारण देशकै गौरव र प्रतिष्ठा बढेको बताए ।  उनले  बधाइ ज्ञापन गर्दै खेलाडीहरुलाई फेरि पनि सफलताको कामना गरे । उनले भने,“तपाईहरूलाई प्रेरणा मिलोस् भनेर मैले नेपाल सरकारको तर्फबाट प्रतिखेलाडी २ लाख पुरस्कार दिने घोषणा गर्दछु ।”