नागढुङ्गा-मलेखु सडकको लागत प्रति किलोमिटर १२ करोड

धादिङ - मुलुकको राजधानी काठमाण्डौ र विभिन्न जिल्ला जोड्ने मुख्य नाका नागढुंगा हो । काठमाण्डौ नागढुंगा नौविसे त्रिभुवन राजपथ र नौविसे मलेखु पृथ्वीराजमार्ग सुधार तथा विस्तारको काम भइरहेको छ । त्रिभुवन राजपथको नागढुंगा–नौविसे खण्डको १२ दशमलव २६० किलोमिटर सडक सुधार तथा विस्तार एक अर्व ८८ करोड ९८ लाख ११ हजार ९७१ रुपयाँ लागतमा दुई वर्षमा सक्ने र पृथ्वी राजमार्गको नौविसे–मलेखु खण्डको ४३ दशमलव ५४२ किलोमिटर सडक सुधार तथा विस्तार सात अर्व ८३ करोड ४७ लाख ८२ हजार १४१ रुपयाँ लागतमा ३ वर्षमा सक्ने गरी लागत अनुमान गरिएको थियो । तर निर्माण कम्पनी जिअंसु र सगुन कन्ट्रक्शनले संयुक्त रुपमा २०७८ साल चैत्र २४ गते नागढुंगा–नौविसे खण्डको १२ दशमलव २६० किलोमिटर सडक सुधार तथा विस्तार एक अर्व ३१ करोड ८४ लाख एक हजार २१० रुपयाँ लागतमा दुई वर्षमा सक्ने गरी सम्झौता गरी निर्माण कार्य गरिरहेको छ ।

यसैगरी निर्माण कम्पनी शर्मा–लामा कन्ट्रक्शन र जेआइसिजीले संयुक्त रुपमा २०७८ साल चैत्र २४ गते नौविसे–मलेखु खण्डको ४३ दशमलव ५४२ किलोमिटर सडक सुधार तथा विस्तार पाँच अर्व ३३ करोड १९ लाख २८ हजार ७७४ रुपयाँ लागतमा तीन वर्षमा सक्ने गरी सम्झौता गरी निर्माण कार्य गरिरहेको छ । दुवै खण्ड गरी ५५ दशमलव ८०२ किलोमिटर सडकको लागत ६ अर्व ६५ करोड तीन लाख २९ हजार ९८४ रुपयाँ अर्थात प्रतिकिलोमिटर मिटर ११ करोड ९१ लाख ७७ हजार २६९ रुपयाँ रहेको छ । यस सडकको परार्मशदताहरु अस्ट्रेलियाको एस एम इ सी इन्टरनेशनल प्रालि, पि इ सी लिमिटेड र रिपव्लिकन अप कोरिया इन एसोसिएसन,आइ टि इ सि ओ र टि एम एस रहेका छन् ।

सडक सुधार तथा विस्तारको मुख्य लक्ष्य काठमाण्डौ–नौविसे–मलेखु खण्डको क्षमता बढाउने, मालवाहक सवारी साधनको आवागमनमा सहजता ल्याउने, यातायातका खर्च र समय घटाउने, सडक दुर्घटना न्यूनिकरण गर्ने र बजार क्षेत्रलाई व्यवस्थित गर्ने रहेको छ । सडक ९ मिटरदेखि ३० मिटर चौडा हुने छ । खानीखोलाबजारमा ४६० मिटर लम्वाई २१ मिटर चौडा र गल्छी बैरेनीमा ३७० मिटर लम्वाइ २१ मिटर चौडा हुने छ । यसैगरी धार्केबजारमा ४२० मिटर, महादेववेसीमा ३५० मिटर सिम्लेमा २७० मिटर, गजुरीमा ७३० मिटर र मलेखुमा २१० मिटर सडक ३० मिटर चौडा हुनेछ । ३० मिटर चौडाई हुने स्थानमा दुई सर्भि लेन समेत हुने इन्जिनियर जयराम अधिकारीले बताए ।

यसैगरी पृथ्वी राजमार्गमा पर्ने आग्राखोला पुल, बेल्खुखोला पुल र मलेखु खोला पुलमा नयाँ पुल गरिदैन । त्रिभुवन राजपथ अर्थात प्योक १ अन्तरगत खत्रीपौवा पुल र नौविसेखोला पुल नयाँ निमार्ण गरिनेछ । यसैगरी पृथ्वीराजमार्ग अर्थात प्याकेज दई अन्तरगत गणेशखोला, सोप्याङखोला, खहरेखोला, फेदीखोला, डाङडुङखोला, खेस्टेखोला, मछेडी खोला, गर्दोखोला, जुन्डीखोला, चिरौँदीखोला पोखरेखोला, गलाँैदी खोला, सोती खोला पुल नयाँ निमार्ण गरिने इन्जिनियर अधिकारीले बताए ।