राष्ट्रपतिमा कांग्रेसको सहमति विना अघि नबढ्ने प्रचण्डको अडान

काठमाडौं - पछिल्लो समय राष्ट्रपतिको निर्वाचनको समयावधि नजिकिँदै गर्दा नयाँ राजनीतिक आयामका परिदृश्य देखिएको छ। राष्ट्रपतिको निर्वाचनले सत्तारुढ गठबन्धन फुटको संघारमा पुगेको छ।

गएको निर्वाचनमा कायम गरिएको पाँच दलीय गठबन्धन परित्याग गर्दै पुष १० गतेबाट पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा बनेको नयाँ सात दलीय गठबन्धनमा दरार पैदा भएको छ।

सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले पुरानै गठबन्धन ब्युँताउने संकेत गरेका छन्। उनले बुधबार नेपाली कांग्रेसका नेताहरुलाई कांग्रेसकै राष्ट्रपति बनाउने वचनबद्धता जाहेर गरेका हुन्।

एमालेको राष्ट्रपति उम्मेदवार अस्वीकार गर्ने औपचारिक निर्णयमा पुगेको माओवादी केन्द्रले त्यसकै बचाउमा राष्ट्रिय सहमतिको प्रस्ताव अगाडि सारेको छ।