एमालेले बुझायो प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र, जनमुखी मागहरुलाई कार्यान्वयन गर्न आग्रह  

काठमाडौँ ।  नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मध्यपहाडका समस्या र समाधानका उपायबारे सरकारलाई लिखित रूपमा ध्यानकर्षण गराएको छ ।

मंगलबार बिहान एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले बालुवाटारमा भेटेर मध्यपहाडका समस्या, सम्भावना र चुनौती लिखित रूपमा जानकारी गराएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

एमालेले गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म सञ्चालन गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा विभिन्न ठाउँमा जनताले राखेका मागहरू एकीकृत गरी नेपाल सरकारसमक्ष ध्यानाकर्षणपत्र प्रस्तुत गरेको छ ।

ध्यानाकर्षणपत्र बुझाउँदै पूर्वप्रधानमन्त्री तथा अध्यक्ष ओलीले पार्टीले सञ्चालन गरेको अभियानले मध्यपहाडी क्षेत्रको जनजीवन, विकास निर्माण, जनताको मनोविज्ञान, राजनीतिक सहकार्यको स्थिति, समृद्धिको आकांक्षा र सम्भावना बुझ्न महत्त्वपूर्ण योगदान पुगेको बताए।

उक्त ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री दाहालले मध्यपहाडी क्षेत्रका विकास निर्माण, जनसेवा र समृद्धिका विषयमा एमालेले प्रस्तुत गरेको ध्यानाकर्षणले नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणमा महत्वपूर्ण योगदान पुग्दै बताउँदै उक्त अभियानले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणमा महत्त्वपूर्ण सहयोग पुगेको बताए।

 उनले एमालेद्वारा प्रस्तुत ध्यानाकर्षणपत्र मध्यपहाडी क्षेत्रका जनता, सबै राजनीतिक दल र नेपाल सरकारको समेत मुद्दा भएकाले सम्बोधन गर्न सकिने जति विषयहरू सम्बोधनका निम्ति सरकार गम्भीर रूपमा लाग्ने प्रतिवद्धतासमेत व्यक्त गरे।
प्रतिनिधिमण्डलमा अध्यक्ष ओलीसहित पदाधिकारी र अन्य नेताहरू उपस्थित थिए।