राष्ट्रिय सभा निर्वाचन : दुईवटा फरक मतपत्र हुने 

काठमाडौँ - माघ ११ हुने राष्ट्रिय सभाका लागि दुईवटा फरक मतपत्रको व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा प्रदेश सभाका सदस्यहरूका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखहरूका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रहरूको व्यवस्था गरिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका हुन् । 

‘राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलका सबै मतदाताहरु गोप्य मतदानद्वारा आफूले रोजेको र चाहेको उम्मेदवारलाई मतदान गर्न स्वतन्त्र छन्,’ पौडेलले भने । तर निर्वाचन ९कसुर तथा सजाय० ऐन, २०७३ को व्यवस्था बमोजिम मतपत्रमा मत सङ्केत गरेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रदर्शन गर्न वा मत सङ्केत गरेको ब्यहोरा कुनै प्रकारले सार्वजनिक गर्न पाउने छैनन् । 

यस विषयलाई मध्यनजर गरी सम्बन्धित मतदान केन्द्रहरूमा निर्वाचन आयोगले तोकेको कुनै एक परिचयपत्र साथ उपस्थित भई आफ्नो विवेकको गोप्य मताधिकारको प्रयोग गर्न र यस निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरिहत वातावरणमा सम्पन्न गर्न गराउन आयोगले अनुरोध पनि गरेको छ ।