तत्काल चालक अनुमति पत्र उपलब्ध गराउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमति पत्र अर्थात् लाइसेन्स कुरेर बसेका सेवाग्राहीलाई तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन् ।

राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतिपत्र र राहदानी सेवालाई थप व्यवस्थित बनाउनेबारे तालुक मन्त्रालय तथा मन्त्री, सचिव र सम्बन्धित विभागका प्रमुखहरूसँग सोमबार छलफल गरेर प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले अर्को हप्तादेखि लाइसेन्स छपाइको प्रक्रिया अगाडि बढ्ने जानकारी दिए । उनको अनुसार लाइसेन्स छाप्नको लागि ६ लाखप्रति कार्ड जर्मनीबाट आइसकेको छ र कार्डको गुणस्तर जाँच गरेपछि पूर्ण क्षमतामा लाइसेन्स छपाइको काम शुरु हुन्छ ।

चालक अनुुमतिपत्र फारम भरेर परीक्षा पास गरिसकेका १४ लाखभन्दा धेरैले लाइसेन्स पाउन नसकेको रिजालले बताए । उनीहरु राजस्व तिरेको रसिद बोकेर हिँड्न बाध्य छन् । नवीकरण, हराएको र नयाँ लाइसेन्स गरी अहिले दैनिक चार हजारप्रति लाइसेन्सको माग छ ।