देशमा धर्मनिरपेक्षता आउनुमा बाहुन, क्षेत्री र हिन्दु भन्नेहरु नै दोषी रहेको लिङ्देनको जिकिर  

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले देशमा धर्मनिरपेक्षता आउनुमा बाहुन, क्षेत्री र हिन्दु भन्नेहरु नै दोषी रहेको जिकिर गरेका छन् । 
मंगलबार काठमाडौमा आयोजित नीलप्रसाद भण्डारी स्मृति पुरस्कार वितरण कार्यक्रमलाइृ सम्बोधन गर्दै उनले  यस्तो बताएका हुन् ।

उनले मत नसच्याएसम्म हिन्दु राष्ट्र, हिन्दु धर्म र हिन्दु अधिराज्यको माला जपेर मात्रै हिन्दु राज्य नबन्ने बताए। उनले धर्मविहीन राष्ट्रियता र राजनीति हुन नसक्ने जिकिर गरे।

अध्यक्ष लिङ्देनले जनताले मत परिवर्तन नगरेसम्म हिन्दु राष्ट्र फगत नारामात्रैमा सीमित हुने बताए। उनले चुनावमा आफूले जितेपछि हिन्दु राज्य फर्काउँछु भन्नेहरुलाई जिताउन आवश्यक रहेको बताए।

उनले भने, ‘नेपाललाई धर्मनिरपेक्ष बनाउन जति पार्टी र नेताहरु दोषी छन्, जति विदेशीहरु दोषी छन्, त्योभन्दा हामी हिन्दु हौँ भनेर ती पार्टीहरुलाई भोट दिने तपाईंहरुको हात कम दोषी छैन। जबसम्म मत परिवर्तन गनुहुन्न, सच्याउनु हुन्न तबसम्म यो फगत नारामात्रै हुन्छ। वास्तवमा यो देशमा धर्म निरपेक्ष आउनुमा कांग्रेस, कम्युनिष्ट, यी अरु पार्टी कसैलाई दोष दिनुभन्दा पनि क्षेत्री बाहुको हात दोषी छ। आफूहरुलाई हिन्दु हौँ भन्नेहरुको हात दोषी छ। मलाई यो भन्नुमा कुनै आपत्ति छैन।’

अध्यक्ष लिङ्देनले नेपालमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले चाहेर मात्रै धर्म निरपेक्षता नआएको बताए। उनले धर्म निरपेक्ष बनाउन दाहालभन्दा बढी दोषी नेपाली कांग्रेस रहेको बताए।

उनले हिन्दु अधिराज्य स्वीकार्न, राजालाई कुनै न कुनै ठाउँ दिन र प्रदेश खारेज गर्न सहमत भए नेपाली कांग्रेसको भाइ भएर हिँड्न राप्रपा तयार रहेको बताए।