काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली जन्म दर्ता तथा नागरिकता बनाएको आरोपमा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार वीरगन्ज महानगरपालिका वडा नम्बर ३ का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन वडा सदस्य तथा कार्यवाहक वडा अध्यक्ष तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षड कुमार पोख्रेल, गृह मन्त्रालयका तत्कालीन उपसचिव तथा छानबिन समिति संयोजक पुष्कर राना, शाखा अधिकृत परशुराम पोखरेल र रिता भट्टराईसमेत मिलेमतोमा गलत विवरण पेस गरी नागरिकता प्रमाणपत्र जारी गरिएको पाइएको हो । अनुसन्धान अनुसार भट्टराई थर भएकी महिलाको छोरीलाई आफ्नो छोरी भनी देखाई रुबिना श्रेष्ठको नाममा जन्म दर्ता प्रमाणपत्र तयार गरिएको र सोही आधारमा जिल्ला प्रशासन कार्यालय पर्साबाट मिति २०७५ साउन १३ गते नागरिकता प्रमाणपत्र जारी गरिएको उल्लेख छ । आयोगका अनुसार जन्म दर्ता प्रमाणपत्रदेखि नागरिकता सिफारिससम्मका कागजातमा जानी–जानी गलत विवरण तयार पार्ने, सरकारी कागजात सच्याउने, केरमेट गर्ने, थपघट गर्ने तथा प्रमाण नष्ट गर्ने कार्य भएको देखिएको छ । त्यसै गरी छानबिन समितिले समेत वास्तविक तथ्य लुकाई गलत प्रतिवेदन दिएको र घटनालाई ढाकछोप गर्ने प्रयास गरिएको मुद्दामा उल्लेख छ । अख्तियारले सबै प्रतिवादीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।