'एमाले र माओवादी मिलेर नेकपा बन्नु इतिहासमै ठूलो उपलब्धी भएपनि जोगिएन' : नेपाल

 काठमाडौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीभित्र व्यक्तिवाद हावी भएका कारण कम्युनिष्ट एकतालाई जोगाउन नसकिएको बताएका छन् ।

समाजवाद अध्ययन केन्द्र नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मुलुकमा एमाले र माओवादी मिलेर नेकपा बन्नु इतिहासमा नै ठूलो उपलब्धी भएपनि पार्टीभित्र व्यक्तिवाद हावी भएका कारण त्यसलाई जोगाउन नसकिएको बताएका हुन् । उनले निर्वाचन अघि र पछि पनि कम्युनिष्ट शक्तिलाई एकतावद्ध गर्ने प्रयास गरिएपनि सफल हुन नसकेको धारणा राखे ।

अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीभित्र रहेको व्यक्तिवादी रोगहरुको समयमा नै चिरफार गर्न नसके कम्युनिष्ट आन्दोलन कमजोर हुदै जाने उल्लेख गरे । अब मुलुकको राजनीतिलाई जनतादेखि जनतासम्मको धारमा माड्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।