आज ४१औं बीपी स्मृति दिवस मनाइँदै

 काठमाण्डौँ - प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद बीपी कोइरालाको योगदानको स्मरण गरी ४१औं स्मृति दिवस आज शनिवार मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विक्रम संवत् २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् ।

कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो । विक्रम संवत् २०१५ सालको संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’, एवं ‘बाबु, आमा र छोरा’ गरी ६ उपन्यास प्रकाशित भएका छन् ।

त्यसैगरी २ कथा संग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’ प्रकाशित छ । वरिष्ठ अधिवक्ता स्व। गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त’, सुन्दरीजल बन्दी गृहमा बस्दाको दिनचर्यामा आधारित ‘जेल जर्नल’, विक्रम संवत् २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्केपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दीगृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरी सुन्दरीजल’ले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ । 
 नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । १ महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंह लगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो । विक्रम संवत् २०२५ सालमा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त भएका कोइरालाले ८ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए ।

भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा संघर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी ८ वटा ज्यान मुद्दाको पर्वाह नगरी २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किएका थिए । उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ ।