बजेटका कारण सत्ता गठबन्धनमा समस्या नहुने मन्त्री शर्माको दाबी

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्षको बजेटका कारण सत्तासाझेदार दलबीच समस्या नहुने बताएकी छिन्।

प्रेस सेन्टरले शनिबार धनगढीमा गरेको पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटप्रति व्यक्त गुनासा एवं त्यसमा भएका त्रुटीलाई सम्भव भएसम्म सुधार गरेर जाने प्रयत्न भइरहेको बताइन्।

बजेट सन्तुलित रहेको चर्चा गर्दै उनले भनिन्, “जनतातिर फर्केको, समाजवादोन्मुख र उत्पादनलाई ध्यान दिएको बजेट छ ।” बजेटमा कतिपय कुरा सच्याएर जान सकिने भए पनि सुधार गरेर लैजान पाइँदैन भन्ने परम्परागत संसदीय व्यवस्थाको अभ्यासलाई मानेर जानुपर्छ भन्ने कुरा बेठिक रहेको उनको भनाइ छ। उनले अहिलेको गठबन्धन सरकारको विकल्पबारे नसोचिएको स्पष्ट गरिन्।

विभिन्न दलले गठबन्धन गरेर सरकार चलाइरहेकाले एउटै पार्टीले सरकार चलाएजस्तो नहुने बताउँदै उनले सत्ता पक्षीय दलबीच लामो समयसम्म सहकार्य गरेर जाने नेकपा (माओवादी केन्द्र) सोच रहेको उल्लेख गरिन्। “सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र गृह मन्त्रालय लगायतको समन्वय बैठकबाट रेडियो नेपाल, निजी सामुदायिक रेडियो, नेपाल टेलिकमबाट एसएमएसका माध्यमबाट बाढी, पहिरो, डुबानजस्ता विपद्का बारेमा पूर्व सूचना दिने भनेर एक सम्झौता गरिएको छ, सरकार विपद् व्यवस्थापनका निम्ति तम्तयार छ एवं संवेदनशील छ।”

 मन्त्री शर्माले आमसञ्चारसम्बन्धी पुराना नियमलाई समयानुकूल बनाइने बताइन्।