थोक व्यापार ४० प्रतिशतसम्म घट्यो

काठमाण्डौँ - नेपालमा बढ्दै गएको आर्थिक असहजताले व्यापार सामान्य अवस्थाको तुलनामा २५ देखि ४० प्रतिशतमा सीमित भएको थोक व्यापारीले बताएका छन् । पछिल्लो ८ र १० महीनादेखि व्यापारमा यस किसिमको स्थिति देखिएको उनीहरूको भनाइ छ ।

काठमाडौंको प्रमुख थोक बजार महाबौद्धमा १० वर्षदेखि तयारी कपडाको कारोबार गर्दै आएका यदुनाथ धितालले भाडा तिर्न समेत मुश्किल पर्ने अवस्था आएको बताए । भाडा तिर्नसमेत अप्ठ्यारो अवस्था आइसकेको छ । ९ महीनाअघिको अवस्थासँग तुलना गर्दा व्यवसाय ३० प्रतिशतमा सीमित भएको छ, उनले भने, स्टाफलाई तलब दिन उत्तिकै गाह्रो छ । समग्रमा अहिले व्यवसाय निकै खस्केको छ ।

तयारी पोशाक व्यवसायी खनालले अब व्यवसायी पलायनको मुडमा पुगिसकेको बताए । महाबौद्धमै लामो समयदेखि तयारी कपडाको थोक व्यापार गर्दै आएका अर्का व्यवसायी महेश बर्माको गुनासो पनि उस्तै छ । देशका विभिन्न ठाउँमा सामान ओसारपसार गरिरहेको हो तर पछिल्लो समय उधारोमा पठाएको सामानको पैसा आइरहेको छैन, उनले भने, साथीहरूले विक्री नै भएको छैन भनिरहेका छन् ।

सहकारीमा जम्मा गरेको पैसा फिर्ता नहुँदा पनि धेरै खुद्रा व्यवसायीले उधारो तिर्न नसकेको बर्माले बताए । साडी व्यवसायी परमोहन रौनियारले बैंक, वित्तीय संस्था एवं लघुवित्तबाट ऋण पाउनै छोडेको बताए । व्यवसायी रौनियारका अनुसार कसैले पनि ऋण लगानी नगरिरहेको अवस्था छ । बैंक, वित्तीय संस्था, लघुवित्त कहीँबाट पनि ऋण मिलिरहेको छैन । सहकारीको स्थिति त सबैलाई थाहा नै छ, उनले भने । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।