सुन तस्करी प्रकरण : हाजिर जमानीमा छुटे महरा

काठमाडौँ ।  सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा हाजिर जमानीमा छुटेका छन्।

बयान लिने काम सकिएको र स्वास्थ्य अवस्था बिग्रिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले उनलाई सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानीमा छाडेको सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए । उनलाई परिवारको जिम्मा लगाएर पठाइएको छ ।

‘अनुसन्धानको सिलसिलामा हिरासतमा रहेको कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक वा उपयुक्त नदेखिएमा अनुसन्धान अधिकारीले सरकारी वकिलको सहमति लिई वा तत्काल त्यस्तो सहमति लिन सकिने अवस्था नभएमा कारणसहितको पर्चा खडा गरी त्यस्तो व्यक्तिबाट धरौट वा जमानत लिई वा निजलाई कुनै माथवर व्यक्तिको जिम्मामा हाजिर जमानीमा छाड्न वा तारिखमा राख्न सक्नेछ।’ मुलुकी फौजदारी कार्यविधि ९संहिता० ऐन, २०७४ को दफा १५ मा उल्लेख छ।

चैत ५ गते पक्राउ परेका महारमाथि अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले ४ दिनको म्याद दिएको थियो। अदालतले दिएको म्याद बिहीबारै सकिएको छ ।
 
गत साउन २ गते ‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको नौ किलो सुन तस्करीमा सङ्लग्न चिनियाँ नागरिकसँग महराको नाम जोडिएकाले अनुसन्धानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।