श्रमिकलाई पेन्सनसहितको सामाजिक सुरक्षा योजना शुभाम्भ 

 काठमाडौँ - सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पेन्सनसहितको सामाजिक सुरक्षा योजना शुभाम्भ गरेको छ । बुधबार काठमाडौंमा सामाजिक सुरक्षा कोषले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारमा रहेका श्रमिक, विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना शुभारम्भ गरेका हुन् ।

वैदेशिक स्वरोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा उक्त कार्य शुभारम्भ गरिएको कोषले जनाएको छ । योजना सुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिक लाभान्वित हुने प्रधानमन्त्री प्रचण्डले बताए । उनले वैदेशिक रोजगारीका लागि जाने युवालाई दुःख दिने काम अन्त्य भएको सहज वातावरण बनाईएको धारणा राखे । प्रधानमन्त्री प्रचण्डले विभिन्न परिस्थिति र बाध्यताले वैदेशिक रोजगारीमा जान परेको अवस्थालाई अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको उल्लेख गरे ।

कोषमा आबद्ध हुने वैदेशिक रोजगारमा रहेका श्रमिकले पनि जीवनको उत्तरार्धमा पेन्सन पाउने अवस्था बनेकाले श्रमिकको जीवनमा ठूलो मद्दत पुग्ने उनको भनाइ छ । त्यस्तै प्रधानमन्त्री प्रचण्डले पहिलो पटक प्रधानमन्त्री हुँदा बिदेशमा रहेका नागरिकको समस्या समाधान गर्न पहल गरेको, दोश्रो पटक प्रधानमन्त्री हुँदा श्रमिकको सुरक्षा, स्वास्थ र वीमाको समस्या समाधान गर्न प्रयास गरेको र अहिले विदेशमा रहेका श्रमिकको सुरक्षा कार्यक्रम शुभारम्भ गर्न पाउदा खुसी लागेको बताए ।