जसपा कार्यकारिणी समिति बैठक आज, उपनिर्वाचनबारे छलफल

 काठमाण्डौँ - जनता समाजवादी पार्टी नेपाल जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दैछ ।

बालकुमारीस्थित पार्टी कार्यालयमा बुधबार दिउँसो १ बजे बैठक बस्नेछ ।

कार्यकारिणी समिति सदस्य शिवलाल थापाका अनुसार वैशाख १० मा हुने उपनिर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो ।

गत मंसिर ४ मा जसपाबाट तत्कालीन केन्द्रीय कार्यकारिणी समिति सदस्य रामसहायप्रसाद यादव बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। चैत ३ मा उपराष्ट्रपति बनेपछि उनले सांसद र पार्टीबाट राजीनामा दिएका छन्। यो क्षेत्रमा पनि वैशाख १० मै उपनिर्वाचन हुँदैछ।

बारा २ मा कसलाई उम्मेदवार बनाउने भन्नेबारे आज छलफल हुनेछ। यो क्षेत्रमा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार हुने चर्चा छ। उपेन्द्र गत मंसिरको चुनावमा पराजित भएका थिए। सप्तरी क्षेत्र नम्बर २ मा उपेन्द्रलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले हराएका थिए।