चिनियाँ ठेकेदारद्वारा मापदण्डविपरीत खोलै खोतलखातल

गोरखा - मुग्लिन–पोखरा सडक स्तरोन्नतिको ठेक्का पाएको चिनियाँ कम्पनीले मर्स्याङ्दी नदीको दोहन गरिरहेको छ।

नदीको प्राकृतिक स्वरूप नै बिगार्ने गरी मूल प्रवाहमै एक्साभेटर लगाएर चाइना कम्युनिकेसन्स कन्स्ट्रक्सन कम्पनी (सीसीसीसी)ले ढुंगा, गिटी, बालुवा झिकिरहेको हो। जुन स्थानीय तहसँगका सम्झौता र प्रारम्भिक वातावरणीय मूल्यांकन (आईईई) प्रतिवेदनविपरीत छ। त्यसमाथि ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ उल्लंघन गरेको 
देखिएको छ। 

मापदण्डको दफा १२ मा ठूला, रूपान्तरणकारी, राष्ट्रिय गौरवका तथा प्राथमिकताप्राप्त आयोजनाको लागि विशेष व्यवस्था छ। यस्ता आयोजनाका लागि आवश्यक ढुंगा, गिट्टी, बालुवाको वातावरणीय अध्ययन प्रतिवेदनको पालना हुने गरी सम्बन्धित गाउँपालिका वा नगरपालिकाले तोकिएको स्थानबाट संकलनको व्यवस्था मिलाउनुपर्ने उपदफा १ मा उल्लेख छ। 

तर, उक्त कम्पनीले मापदण्ड र सम्झौताविपरीत मर्स्याङ्दीका दर्जनभन्दा धेरै घाटमा तीन सातायता अनियन्त्रित रूपमा दोहन गरिरहेको हो। उसले नदीको मध्यभागमा एक्साभेटर लगाएर दुईदेखि तीन मिटर गहिरो बनाइ ढुंगा, गिटी, बालुवा निकालिरहेको छ। यसले गर्दा नदी कुरुप बनेको छ। बर्खाका बेला आसपासमा बाढीपहिरोको जोखिम बढेको छ। 
नदी किनारमा थुप्रिएका ढुंगा, गिटी, बालुवा मात्र झिक्न पाउने भए पनि नदीको मूल प्रबाहबाट उत्खनन गर्नु दुखद् भएको जिल्ला समन्वय अधिकारी नानीबाबु पोखरेल बताउँछन्। ‘उनीहरूले आईईई प्रतिवेदन देखाए पनि नदीको मूल प्रवाहमा मेसिन हाल्न पाउनुपर्छ भन्ने त उल्लेख भएको हुँदैन’, पोखरेल भन्छन्, ‘हामी जिल्ला अनुगमन समितिले यथासीघ्र अनुगमन गर्नेछौं।’ 

उक्त कम्पनीले तनहुँका आँबुखैरेनी गाउँपालिका, व्यास नगरपालिका, गोरखाका गोरखा र पालुङटार नगरपालिकाका क्षेत्रमा पर्ने नदीजन्य सामग्री निकाल्न अनुमति लिएको छ। 
आँबुखैरेनी गाउँपालिकाबाट ४५ हजार ३ सय १३ घनमिटर, भानु नगरपालिकाबाट ६ हजार ५ सय ६८ घनमिटर, पालुङटार नगरपालिकाबाट १० हजार घनमिटर, गोरखा नगरपालिकाबाट २ लाख २९ हजार ६ सय ४० घनफिट ढुंगा, गिटी, बालुवा उत्खननको अनुमति लिएको पाइएको छ। 

कम्पनीले आँबुखैरेनी–२ मार्किचोक घाटबाट ३९ हजार ४ सय ५७ घनफिट, रोधी खोलाबाट ७ लाख ६ हजार २ सय र बरादी घाटबाट ५ लाख ३६ हजार ३ सय ५८ घनफिट तथा वडा नं. १ को सत्रसय फाँटबाट ३ लाख ५७ हजार ४ सय ५० घनफिट सामग्री मूल प्रवाहबाट धमाधम उत्खनन गरिरहेको छ। पालुङटार नगरपालिकाको अबण्डा घाटबाट १८ सय ३, मझुवा घाटबाट ९ सय ८२, खोला घाटबाट ३ हजार ५ सय २, चनौटे घाटबाट १ हजार ५ सय ७० घनमिटर सामग्री मूल प्रवाहबाटै झिकिरहेको छ। सोही कम्पनीले गोरखा–१४ शाह घाटबाट १ लाख ४३ हजार ४६  र भैंसेटार घाटबाट ८६ हजार ५ सय ९४ घनफिट उत्खनन गरिरहेको छ। 
पालुङटार, भानु र आँबुखैरेनीका घाटमा सिधै सीसीसीसीले दोहन गरेको छ। गोरखा नगरपालिकाका बिभिन्न घाटबाट निजीले उत्खनन गरी उक्त कम्पनीलाई उपलब्ध गराएका छन्। भानुको बेनीबगर घाटबाट ४ हजार २ सय ५६ र बलिफाँट घाटबाट २ हजार ३ सय १२ घनमिटर उत्खनन भइरहेको छ। बन्दीपुर गाउँपालिकासँग पनि कम्पनीले माग गरिरहेको छ। 

(अन्नपूर्ण पोस्टबाट साभार )