एमाले केन्द्रीय कमिटी बैठक, आज समुहगत छलफलको निष्कर्ष सुनाइँदै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज छलफलको निष्कर्ष सुनाइनेछ । समूहगत छलफलबाट आएका निष्कर्ष आजको बैठकमा सुनाउने कार्यक्रम छ ।

बैठकमा प्रस्तुत चारवटा कार्ययोजनामा बुधबार समूहगत छलफल भएको थियो । छलफलका लागि नौवटा समूह बनाइएको छ । छलफलपछि आएका निष्कर्षलाई केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरी केन्द्रीय कमिटीमा पार्टी नेतृत्वले त्यसलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

एमालेका अधिकांश केन्द्रीय सदस्यहरूले बैठकमा प्रस्तुत गरेको समस्याहरू मूल नेतृत्वतिरै फर्काउनुपर्ने र समाधान पनि माथिबाटै सुरू गनुपर्ने बताएका छन् ।

केन्द्रीय कमिटीको बैठकमा पार्टीमा आर्थिक, नैतिक, चारित्रिक विचलन आएको, कमिटी प्रणालीमा गुटबन्दी देखापरेको, नीति र नेतृत्वमा समस्या नहुँदा पनि अन्तरविरोधले डेरा जमाएको भन्दै केन्द्रीय सदस्यबाट समाधानको सुझाव मागिएको थियो ।

नेतृत्वको यस निष्कर्षबारे टिप्पणी गर्दै केन्द्रीय सदस्यहरूले समस्या मूल नेतृत्वमै रहेको औंल्याएका हुन् । बैंठकमा उठेका सबै प्रश्नको जवाफ अध्यक्ष केपी शर्मा ओलीले दिने कार्यक्रम छ ।