लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग

काठमाडौँ - नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरीले टीकापुर घटनाका सम्बन्धमा अध्ययन गरिएको लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न आग्रह गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उनले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई रिहा गर्ने प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

सांसद प्रभु साहले रौटहटमा मौलापुर नगरपालिकाले आयोजना गरेको कार्यक्रमको नेपाल विद्युत् प्राधिकरणका स्थानीय कर्मचारीले विरोध गरेको, कार्यक्रमका दिन बिजुलीको लाइन काटेको जानकारी दिँदै प्राधिकरणका कर्मचारीलाई कानुन लाग्ने कि नलाग्ने भनी प्रश्न गरे। “सेवाग्राहीले के कारणले लाइन काटेको हो भनेर सोध्न जाँदा गुण्डागर्दी भयो”, उनले भने, “विद्युत् अवरोध गर्ने, जनतालाई दुष्प्रचार गर्ने घटनाको तत्काल छानबिन गर्न माग गर्दछु ।”