जर्मन-दक्षिण एसियाली संसदीय टोलीद्वारा भक्तपुरका सम्पदाको अवलोकन

भक्तपुर - नेपालको भ्रमणमा रहेको जर्मन-दक्षिण एसियाली संसदीय समूहको टोलीले आज भक्तपुर दरबार स्क्वायर क्षेत्रका सम्पदास्थलको अवलोकन गरेको छ।

भक्तपुरको दरबार क्षेत्रको अवलोकनमा आएको जर्मन–दक्षिण एसियाली संसदीय समूहमा सदस्य रेनेट कुनास्ट, एन्ड्रियास लरेम, पाउल लेहेरेदर, रिया स्क्रोडर, माल्टी काउफमान, अन्ड्रे हान, सोफिया तुम्स्का र सेबास्टियन स्केनेडरलगायतको सहभागिता रहेको थियो।

सो टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भादगाउँले टोपी लगाएर स्वागत गरे। टोलीले भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वका सम्पदा राष्ट्रिय कला सङ्ग्रहालय, दरबार क्षेत्र, तलेजु, पाँचतले मन्दिर र भैरवनाथ मन्दिरको अवलोकन गरेको थियो।

जर्मन प्रोजेक्टले भक्तपुरको सम्पदा संरक्षण र सरसफाइमा सुधार गर्न विगतमा पुर्‍याएको सहयोगको स्मरण गर्दै नगर प्रमुख प्रजापतिले जर्मनीलाई भक्तपुरका जनताले नबिर्सने बताए।

भक्तपुरको मौलिक कला संस्कृति र सम्पदा संरक्षणलाई प्राथमिकतामा राख्दै भक्तपुर नपाले काम गर्दै आइरहेको टोलीलाई जानकारी गराउँदै उनले दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गरे।