प्रतिपक्षको कुरा नसुने संसद र सडक अवरुद्ध गर्ने रास्वपाको चेतावनी  

काठमाडौँ । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिपक्ष दलले संसदमा राखेको कुराहरुको सुनुवाइ नभए संसद र सडक अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सरकार संसदप्रति जवाफदेही नभएको बताएका हुन् । उनले बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही अगाडी बढाउनुपर्नेमा सरकारले अहिलेसम्म त्यसो नगरेको बताए ।

सांसद श्रेष्ठले प्रधानमन्त्रीलाई प्रतिवेदनको अध्ययन कहाँ पुग्यो भनेर प्रश्न समेत गरे । उनले यसरी प्रतिपक्षको कुरा नसुनिएमा आन्दोलन गर्ने चेतावनी दिए ।

सांसद श्रेष्ठले भने, – ‘प्रधानमन्त्रीले प्रतिवेदन पढ्नुहुन्छ र केही कारवाही गर्नुहुन्छ भन्ने अपेक्षा गरेको अहिलेसम्म केही पनि भएको छैन । त्यो प्रतिवेदनको उहाँको अध्ययन कहाँ पुग्यो ? तीन दिन भइसक्यो । त्यो प्रतिवेदन के भयो ? यो दण्डहीनताको पराकाष्टा हो । संसदप्रति सरकार जवाफदेही हुँदैन भनेदेखि मुलुकले कस्तो नेतृत्व पाइरहेको छ ? कति लामो प्रतिवेदन हो ? पढ्न गाह्रो भएको भए हामीलाई ल्याइदिनु हामी वाचन गरेर सुनाइदिन्छौँ । सरकारलाई चेतावनी पनि दिन चाहन्छु, यसरी प्रतिपक्षलाई नसुन्दै जाने हो भने संसद अवरुद्ध पनि हुन्छ । आन्दोलन पनि हुन्छ । तर सरकारले भोलि हामीलाई प्रतिपक्षले सदन चल्न दिएन भनेर दोष लाउन पाउँदैन । जनताको कुरा हामीले राख्दा सरकारले अनदेखा गर्छ भने संसद मात्रै होइन सडक पनि अवरुद्ध हुन्छ ।’

सांसद श्रेष्ठले मिटरब्याज पीडितहरुले न्याय नपाएर आन्दोलनरत भएपनि सरकारले न्याय दिन नसकेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।