अब्बल अम्पायर भएर देखाउँछुः सभामुख घिमिरे

काठमाडौं-  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफू अहिले निर्णायकको भूमिकामा रहेकाले अब्बल निर्णायक भएर देखाउने बताएका छन्।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाद्वारा आज मिर्मीमा आयोजित खेलकुद महोत्सव एवं अध्यक्ष कप प्रतियोगिता, २०७९ को उद्घाटन गर्दै उनले निष्पक्षताका साथ अब्बल निर्णायकको भूमिका निर्वाह गर्ने बताएका हुन्।

प्रतिनिधिसभाको समामुखको भूमिकामा आफू रहेसँगै निष्पक्षताका साथ भूमिका निर्वाह होस् भन्ने धेरैको कामना रहेको भन्दै उनले आफू त्यो भूमिकामा अब्बल भएर देखाउने बताएका हुन्।

“म अहिले अम्पायरको भूमिकामा छु र अब्बल अम्पायर भएर देखाउने छु”, उनले भने, “तर त्यसका लागि खेलाडी र टिमले राम्रो खेल प्रदर्शन गर्नुपर्छ, विजयी हासिल गर्ने काम टिम र खेलाडीमाथि भर पर्छ।”

जनताले गरेका अपेक्षा पूरा गर्नका लागि तयार रहेको उनले बताए। भौतिक पूर्वाधार, बाटोघाटो, खेलमैदानको विकास तथा संस्कार संस्कृतिको संरक्षण र प्रवर्द्धनमा यहाँका स्थानीयवासीले आफूप्रति राखेको अपेक्षा पूरा गर्नका लागि सहजीकरण गर्ने उनले बताए।

खेल जीवनको अभिन्न अङ्ग, जीविकाको आधार तथा राष्ट्रकै पहिचान बनाउन सक्ने भएकाले यसलाई व्यावसायिकतातर्फ जोड्दै जानुपर्नेमा उनले जोड दिए।